‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईं पक्राउप्रति आपत्ति जनाउँदै आजैबाट सडकमा उत्रिने चेतावनी दिएको छ ।
प्रसाईंलाई प्रहरीले गएराति पक्राउ गरेको थियो । अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।
प्रसाईंको अभियानले यही ७ मंसिरमा देशव्यापी आन्दोलन गर्ने घोषणासमेत गरेका थियो । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो । प्रसाईंले केही दिनअघि २७ बुँदे माग अघि सारेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका उनले नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, हिन्दु राज्य स्थापनाका लागि जनमत संग्रह गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
यसैबीच, काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको छ । प्रसाईं पक्राउपछि उनका समर्थक तथा नागरिक बचाउ दलले प्रदर्शन गर्नसक्ने भन्दै उपत्यकाको सुरक्षा थप चुस्त बनाइएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीनवटै जिल्ला प्रहरी परिसरलाई सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएको छ । सोहीअनुसार अहिले सडकमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए ।