टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

Yangle News
रासस
२०७९ मंसिर २६ गते
टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

युरोपेली मुलुक टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने भएको छ ।

भारतबाटै नेपाललाई हेर्दै आएको टर्की दूतावास अब काठमाण्डौमा पनि खोल्ने भएको छ । अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाण्डौमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत काभुसोग्लुबीच गएको शुक्रबार टेलिफोन संवादमा यस विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो ।

‘दुई देशबीचको बढ्दो सम्बन्धका कारण निकट भविष्यमा काठमाण्डौमा दूतावास खोल्ने बारे दुई मन्त्रीबीच सहमति भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘दुई समकक्षीबीच आपसी हित साथै भविष्यमा दुवै देशबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा पनि छलफल भयो ।’

पछिल्लो समय वैदेशिक रोजगारीको लागि नेपाली श्रमिकहरु युरोपेली देशमा जाने क्रम बढेको छ । युरोपेली देश टर्की पनि वैदेशिक रोजगारीको लागि नेपाल सरकारले खुला गरेको देश हो ।

317 views