काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा जाने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनसमेत वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलोपटक गृह जिल्ला जान लागेका हुन् ।
बुधबार कैलालीको धनगढी पुगेका उनी आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।
देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।