टी-२० विश्वकप छनोट : नेपाल ‘सुपर सिक्स’मा पुग्न एक कदम अगाडि

Yangle News
Yangle News
२०८२ अशोज २३ गते
टी-२० विश्वकप छनोट : नेपाल ‘सुपर सिक्स’मा पुग्न एक कदम अगाडि

आइसीसी टी-ट्वान्टी विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य कुवेतले भेट्टाउन सकेन । जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो ।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाए । त्यस्तै पाँचौं नम्बरका ब्याटर यासिन पटेलले १९ र तेस्रो नम्बरमा आएका मीत भाब्सारले ११ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।

स्कोरबोर्डमा एक रन जोड्न नपाउँदै कुवेतले पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरको चौथो बलमा सोमपालले ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए । चौथो ओभरको पाँचौं बलमा नेपालले दोस्रो सफलता हासिल गर्यो । ललितको बलमा मीत भावसार सन्दीप जोराबाट क्याच भए । एक रन पनि जोड्न नपाउँदै कुवेतले अर्को विकेट गुमायो । विकेटकिपर उस्मान घानी अहमद अदाम बाकु पटेल डकआउट भए । त्यसपछि आएका यासिन पटेलले पारीलाई उकास्ने प्रयास गरे । तर, एन्टो र उनले ३५ रनभन्दा बढी साझेदारी गर्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । नेपालका लागि भुर्तेलले ५६ बलमा समान तीन चौका र छक्कासहित ६६ रनको पारी खेले । त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले १९ बलमा एक छक्कासहित २० रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई विकेट लिए । एक विकेट मोहम्मद आकिफ फरुकको नाममा रह्यो ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । राउन्ड रोविनको आधारमा समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्स पनि राउन्ड रोविनकै आधारमा खेलाइनेछ । जसमा शीर्ष तीनभित्र अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त अयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछ ।

जितसँगै नेपालले ‘सुपर सिक्स’मा पुग्न एक कदम अगाडि बढेको छ । नेपालले समूहको दोस्रो खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

Yangle News