राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका छन् । ५०औं दिनपछि आज न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफुले नगरेको स्पष्ट पारे । उनले यस घटनामा राज्य आफूविरुद्ध लागेको प्रष्ट भएको उल्लेख गरे । उनले आफुले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए ।
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएपछि आजको आदेश आएको हो ।