‘कोरला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन आवश्यक छ’

Yangle News
Yangle News
२०८२ अशोज १२ गते
‘कोरला नाकाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन आवश्यक छ’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।

महासंघको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । ‘कालीगण्डकी करिडोर बनेपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्गसमेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवर्द्धनका लागि प्रयोग गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ,’ उनको भनाई छ ।

अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे । उनले भने, ‘१२ दिन अघि सुरु भन्सार कार्यालयबाट १ अर्ब ४० करोड राजस्व संकलन भएको छ । यसले यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक छ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।’

चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

कोरला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्य सञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायतका अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो ।

Yangle News

गत वर्ष मात्र मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्यांक छ । अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरू रहेका र मानसरोवर जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरूलाई समेत सहज हुने बताए । माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरूलाई लगाइँदै आइएको ५ सय अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उनले सरकारसँग माग गरे ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताए ।