कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेँडा पाल्ने किसानलाई भत्ताको व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् । जुम्लाका आठवटै स्थानीय तहका भेँडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ताको व्यवस्था गरिए हो । सो योजना अन्तर्गत चालु आर्थिक वर्षमा करिब २३० भेँडापालक किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ । सिंजा गाउँपालिका–६ का भेँडापालक किसान भीमबहादुर रावतले १८ हजार भत्ता पाएको बताए ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार उक्त कार्यक्रमबाट भेँडा पालन व्यवसायमा थप टेवा पुगेको छ । कार्यालयले दिएको रकमले भेँडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेँडापालक किसान बताउँछन ।
जिल्लामा करिब १७ सयभन्दा बढी भेँडा पालक किसान छन् । जहाँ ८८ हजार ३८८ भेँडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिरहेका छन् । जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेँडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।
भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेँडा पालक किसान रुञ्ज रावतको भनाइ छ ।
कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागू गरेको छ ।