गैरआवासी नेपाली संघको बृहत एकता घोषणा

Yangle News
Yangle News
२०८२ मंसिर १४ गते
गैरआवासी नेपाली संघको बृहत एकता घोषणा

गैरआवासी नेपाली संघ (एनआरएनए)को बृहत् एकता घोषणा गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज संघको एकता घोषणा गरिएको हो ।

विभाजित संघमा अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । १०औं महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१०औं र ११औं महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा-मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ ।

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको एकता घोषणा कोशेढुंगा साबित हुने बताएकी छन् । उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन् ।

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् । ‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईँहरूले आफ्नो माटोका लागि के-कति गर्न सक्नुहुन्छ गर्नुहोस् । मुलुकको हित र विकासका लागि तपाईँहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौं,’ उनले भनिन् ।

उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्कोपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र संघको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनआरएनएलाई राजनीतिक दलको नबनाउन आग्रह गरे । उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् । एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको उनको भनाई छ ।