ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

Yangle News
Yangle News
२०८२ चैत्र १५ गते
ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुवै जनालाई पाँच/पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको हो । शनिबार बिहान पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि प्रहरीले आज अदालत लगेको थियो । भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरु पक्राउ परेका थिए । दुवै जनालाई १० दिन थुना म्यादको मागसहित सरकारी वकिलले इजलास समक्ष निवेदन पेश गरेका थिए ।

पक्राउ परेका ओलीले स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । उनको ‘भर्चुअल’ रूपमा इजलासमा उपस्थिति जनाइएको थियो । लेखक भने सुनुवाईका क्रममा इजलासमै उपस्थित भएका थिए ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई भदौ २३ र २४ को घटनामा दोषी ठहर गर्दै फौजदारी अभियोगमा अनुसन्धान गरी मुद्दा अघि बढाउन सिफारिस गरेको छ । आयोगको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले सिफारिस गर्ने र अन्यको हकमा आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।