‘प्रधानमन्त्रीको प्राथमिकता काममा छ, विदेश भ्रमणको योजना छैन’

Yangle News
Yangle News
२०८३ जेष्ठ ११ गते
‘प्रधानमन्त्रीको प्राथमिकता काममा छ, विदेश भ्रमणको योजना छैन’

सरकारका प्रवक्ता एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको बताए ।

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको विदेश भ्रमणलाई जोडेर भइरहेको चर्चाका सन्दर्भमा उनले भने, ‘प्रधानमन्त्री अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको शुरुआती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौं । सभापतिको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन ।’

प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई तीव्रता दिएको उल्लेख गरे । उनकाअनुसार धेरैजसो मन्त्रालयहरूले आ-आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् ।

सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’ का रूपमा व्याख्या गरे । उनले भने, ‘सिंहदरबारभित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो । कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।’