आन्दोलनलाई थप सशक्त बनाउने शिक्षक महासंघको घोषणा

Yangle News
Yangle News
२०८२ बैशाख २ गते
आन्दोलनलाई थप सशक्त बनाउने शिक्षक महासंघको घोषणा

नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने भएको छ ।

वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको हो । शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिकालाई पनि आग्रह गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू आन्दोलनमा छन् । महासंघले गत चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको छ । यसले गर्दा विद्यार्थीको पढाइदेखि परीक्षा प्रभावित हुने देखिएको छ । अहिलेसम्म शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरेको छैन ।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले वैशाख १ गते नयाँ वर्षमा पनि पनि आन्दोलनलाई निरन्तरता दिएका थिए । उनीहरूले सडकमा नै नयाँ वर्ष शुभकामना आदानप्रदान गरेका छन् ।

शिक्षक महासंघले संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ । आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षा कोठामा नफर्कने उनीहरुको अडान छ । शिक्षकहरूको लगातारको आन्दोलनका कारण माइतीघर-बबरमहल-नयाँबानेश्वर क्षेत्रमा यातायात आवागमनसमेत प्रभावित हुँदै आएको छ ।

यसअघि २०८० असोज ३ गते पनि आन्दोलन भएको थियो । करिब एक सातासम्म भएको आन्दोलनमा सरकारले संघीय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता गरे पनि अझै ऐन ल्याउने चासो नै देखाएन । त्यतिबेला २ पटक गरेर ६ बुँदे सहमति भएको थियो ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो । तर, सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।