चार वर्ष अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका भेट्रान डिफेन्डर जेरार्ड पिके र २०२१ को मार्चयता स्पेनका लागि खेल नखेलेका अर्का भेट्रान डिफेन्डर सर्जियो रामोस यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको प्रारम्भिक टोलीमा समावेश भएका छन् ।
स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा क्याटलान क्लब बार्सिलोनामा चौथो रोजाईमा रहेका जेरार्ड पिके पनि समावेश भएका हुन् । ३५ वर्षीय डिफेन्डर पिकेले सन् २०१८ पछि स्पेनका लागि खेलेका छैनन् ।
त्यसयता उनले बार्सिलोनामा पनि कमै मात्रामा खेल्ने अवसर पाएका छन् । तर, प्रशिक्षक एनरिकले उनलाई आश्चर्यचकित रुपमा टोलीमा समावेश गरेको छन् ।
पिकेले यो सिजन बार्सिलोनामा केवल ८ खेल मात्रै खेलेका छन् । उनी बार्सिलोनाको उप कप्तान रहेपनि टोलीमा स्थान बनाउन उनले एरिक गार्सियासँगै जुल्स कुन्डे, एन्ड्रियास क्रिस्टेन्सेन, रोनाल्ड एराउजो र मार्काेस अलन्सोसँग संघर्ष गरिरहेका छन् । सन् २००९ देखि २०१८ सम्ममा पिकेले स्पेनका लागि १०२ क्याप जित्दा ५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
प्रशिक्षक एनरिकले सर्जियो रामोसलाई पनि टोलीमा समावेश गरेको छन्। यो सिजन उच्च फर्ममा रहेका रामोसको पनि पूनरागमनको सम्भावना रहेको छ ।
जेरार्ड र रामोस दुवैले अन्तिम सुचीमा स्थान बनाउन एमेरिक लापोर्टा, इनिगो मार्टिनेज, पाउ टोरेस, सिसर एज्पिलिक्वेटा र एरिक गार्सियाको चुनौती पन्छाउनु पर्ने हुन्छ । डिएगो लोरेन्ट, ह्युगो गुइलामोन, नाँचो फर्नान्डेस, डेभिड गार्सिया र यरे अल्भारेज पनि रामोस र पिकेलाई चुनौती हुन सक्छ ।
५५ जनाको सुचीबाट प्रशिक्षक एनरिकेले छिट्टै नै बढीमा २६ खेलाडी छनोट गर्नुपर्नेछ । स्पेनले नोभेम्वर २३ मा कोस्टा रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।