देश चुनावमय हुँदै जाँदा शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ । शेयर बजार परिसूचक नेप्से आज ४२ दशमलव २६ अङ्कले बढेर २ हजार ७ सय १४ दशमलव ८१ विन्दुमा पुगेको छ ।
नेप्से झन्डै ५ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १९ गते २ हजार ७ सय १९ विन्दुमा पुगेको थियो । आज सबै समूहको शेयर बढेकोमा होटल समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ बैंकको डिबेन्चर २०८९ सबैभन्दा धेरै ४ दशमलव २३ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अस्ति आइतबार ८ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय ३९ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम झन्डै ६ महिनायताकै धेरै हो । यसअघि गएको साउन १८ गते १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेपालको सन्दर्भमा निर्वाचनको घोषणा र प्रक्रिया सुरु भएसँगै शेयर बजारमा सकारात्मक हलचल हुने पुरानो अनुभव छ । निर्वाचनका क्रममा बजारमा मुद्रा आपूर्ति बढ्ने र बैंकिङ प्रणालीमा तरलता सहज हुने अनुमानले लगानीकर्ताहरू हौसिने गर्छन् ।