नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
साउन १ गते, बिहीबार नेप्से परिसूचक ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार १४ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ४१ हजार ४३४ पटकको कारोबारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिनको कारोबार रकम करिब ११ महिनायताकै उच्च हो । यसअघि गत भदौ ११ गते साढे १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । सोपश्चात यस दिनको कारोबार रकम नै बढी हो ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य ९ प्रतिशत बढेको छ । कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ७.५८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ८४ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड नाघेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।