सुरु भयाे मध्य-कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण

Yangle News
Yangle News
२०८१ फाल्गुन २२ गते
सुरु भयाे मध्य-कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । ६६ दशमलव तीन मेगावाट क्षमताको आयोजनामा आइएमई समूहको लागनी रहेको छ । प्रवद्र्धक हाइड्रो सपोर्ट प्रालि र रुसुवा मल्टी जेभीले आयोजनाको प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो ।

बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको इञ्जिनियर विद्युत्जङ्ग रावतले जानकारी दिए ।

अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिने छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ ।

मध्य कालीगण्डकीको विद्युत् नौलीबगर भन्दा छ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ ।