साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

Yangle News
Yangle News
२०८३ जेष्ठ २ गते
साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

भारतमा आगामी मे २५ देखि हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा भएको छ ।

शनिबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एञ्जिला तुम्पाबो सुब्बाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । एञ्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन् । यसअघि फरवार्ड सावित्रा भण्डारी कप्तान थिइन् । मिडफिल्डर अनिता लम्जेल टोलीमा नयाँ अनुहार छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै श्रीलंका र भुटान छन् । त्यसैगरी, समूह ‘बी’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिता भारतमा आगामी मे २५ देखि जुन ६ सम्म हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा भुटानविरूद्ध मे २५ मा खेल्ने तालिका छ । नेपालको दोश्रो खेल मे ३१ मा श्रीलंकाविरुद्ध खेल्नेछ । दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल जुन ६ मा हुने तालिका छ ।

हालसम्म प्रतियोगिताका सात संस्करण सम्पन्न हुँदा नेपालले ६ पटक फाइनल खेलेको छ । नेपाल सन् २०१६ को संस्करणमा मात्रै फाइनल यात्रा तय गर्न सकेको थिएन । त्यो संस्करणको सेमिफाइनलमा नेपाल भारतसँग स्तब्ध बनेको थियो । नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०२२ र २०२४ को पछिल्ला दुई संस्करणको फाइनलमा नेपाललाई बंगलादेशले स्तब्ध बनाएको थियो ।

Yangle News