टिकटकमाथि प्रतिबन्ध लगाउने सम्बन्धि विधेयकविरुद्ध रिट दायर

Yangle News
Yangle News
२०८० जेष्ठ ९ गते
टिकटकमाथि प्रतिबन्ध लगाउने सम्बन्धि विधेयकविरुद्ध रिट दायर

 

अमेरिकाको मोन्टाना राज्यले टिकटकमाथि प्रतिबन्ध लगाउनेभन्दै हालै विधेयक पारित गरेपछि त्यस विरुद्ध टिकटकले रिट दायर गरेको छ । पारित भईसकेको सो विधेयकमा सन् २०२४ को जनवरीदेखि मोन्टानामा व्यक्तिगत उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने छ ।

टिकटकले मोन्टाना जिल्ला अदालतमा उक्त विधेयकलाई खारेज गर्न माग गर्दै रिट दायर गरेको हो । प्रतिबन्धले अमेरिकी संविधानका साथै बिभिन्न संघीय कानुनहरुको उल्लंघन गरेको उसले दाबी गरेको छ । अमेरिकी टिकटक प्रयोगकर्ताहरुको पहुँच पाउन सक्ने यसले राष्ट्रिय महत्वका सूचना बाहिरिने भन्दै अमेरिकाले लगाएको प्रतिबन्ध हालसम्म पुष्टि नभएको भन्दै आशंकाकै भरमा यसरी प्रतिबन्ध लगाउनु न्यायोचित नभएको पनि जिकिर गरेको छ ।

कम्पनीले मोन्टाना राज्यले जुन कारण देखाउँदै प्रतिबन्ध लगाउन चाहेको हो त्यसको प्रमुख उद्देश्य नै प्रमाणित नभएको दाबी गर्दै उक्त विधेयक खारेज हुनुपर्ने दलिल पेस गरेको छ ।

 

गत सातामात्रै मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले उक्त विधेयकमा हस्ताक्षर गरेका थिए । जस अनुसार आगामी जनवरी १ तारिखदेखि सो राज्यका नागरिकले व्यक्तिगत उपकरणमा टिकटक चलाउन पाउने छैनन् । व्यक्तिगत उपकरणका साथै एप स्टोरमा टिकटक उपलब्ध भएमा दैनिक १० हजार डलर जरिवाना गर्ने कानुन मोन्टाना सरकारले बनाएको छ ।

अमेरिकामा मोन्टाना बाहेक अन्य केही राज्यले पनि टिकटकमा प्रतिबन्ध लगाउनेबारे कुरा उठाएका छन् । मोन्टाना भने प्रतिबन्ध लगाउने विषयमा अन्य राज्यभन्दा अगाडि देखिँदै यसअघि नै सरकारी उपकरणहरुमा यसमाथि प्रतिबन्ध लगाइसकेको छ ।