रोल्पा जीप दुर्घटना : मृतक २० जनाकै सनाखत

Yangle News
Yangle News
२०८३ बैशाख १८ गते
रोल्पा जीप दुर्घटना : मृतक २० जनाकै सनाखत

रोल्पाको जलजलामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको छ । जीप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ज्यान गुमाउनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका -५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

यस्तै दाङको घोराही उपमहानगरपालिका-१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, ७ वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही-१३ बस्ने धनमाया विष्ट रहेका छन् ।

यस्तै दाङको शान्तिनगर गाउँपालिका स्थायी घर भई अहिले रुकुम पूर्वको सिस्ने-५ बस्ने जीप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने-५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका-५ का टेकप्रसाद बस्नेत र सिस्ने-५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् ।

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ गुडिरहेको लु १ ज ४१६७ नम्बरको जीप हिजो दिउँसो ३ बजे दुर्घटनामा परेको थियो । जीपमा चालकसहित २१ जना सवार रहेका थिए ।

तीमध्ये रुकुम पूर्वको सिस्ने-५ का ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् । समीरले जीप दुर्घटना हुन लाग्दा छतबाट हाम फालेर रुखको जरामा समातिँदै ज्यान जोगाएका हुन् ।