नेकपा एमालेले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको छ । हिजो बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई प्रतिवेदन पेस गर्न १ महिनाको समय दिइएको छ ।
यस्तै एमालेले संविधान संशोधनसम्बन्धी आन्तरिक कार्यदल पनि गठन गरेको छ । सचिवालय बैठकले विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल टीकराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा छन् ।
बैठकले असारको १५ गतेदेखि २० गतेभित्र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच परामर्श गरी केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले बताए ।
बैठकले पदाधिकारीहरूको वरीयताक्रम पनि टुंगो लगाएको छ । जसअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त छन् । त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन् ।