सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न

Yangle News
Yangle News
२०८३ बैशाख ३० गते
सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न

यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ ।

दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केहीबेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ ।

कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उनीसहित पासाङ नुर्बु शेर्पा र डेन्डी शेर्पाको टोली आज बिहान १० बजेर २५ मिनेटका शिखरमा पुगेको हो । सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने टोरी टाँग्ने काम अत्यन्तै महत्त्वपूर्ण हुन्छ । अब आरोहीहरू तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन् ।

यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो ।आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन् । शिखरसम्म डोरी टाँग्ने काम भइसकेकोले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ ।

यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत १ अर्ब रुपैयाँभन्दा धेरै संकलन भएको छ । सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ ।