आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । उनले गोरखा-२ बाट उम्मेदवारी दिएका थिए । उनले आगामी दिनमा देशले चाहेको राजनीतिक दल र समूह, व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, एक जनाको उम्मेदवारी खारेज भएको छ । कैलाली-१ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको हो । देशका १६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४ सय ८७ जनाले उम्मेदवारी दिएका थिए ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मनोनयन पत्र दर्तादेखि दाबी-विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उनले जानकारी दिए । समानुपातिक उम्मेदवारको विरोधमा माघ ५ देखि १० गतेसम्म दाबी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूची प्रकाशन हुने उनले बताए ।
प्रवक्ता भट्टराईले बन्दसूचीका आधारमा कुल ५८ वटा निर्वाचन चिह्नलाई कायम गरी आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छपाई शुरु गरिसकेको पनि बताए । ‘देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय गरेको थियो । समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ,’ उनले भने । बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने उनले बताए ।
प्रत्यक्षतर्फ निर्वाचन चिन्ह प्रदान गरेसँगै मतपत्र डिजाइन गरेर छपाईको काम शुरु हुने उनले बताए । समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक-फरक हुने पनि उनले जानकारी दिए । यो महिनाभित्र मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम भइरहेको पनि उनले उल्लेख गरे ।