गत शुक्रबारदेखि पानी पर्न थालेपछि विशेषगरी तराईका किसानमा वर्षे धान फलाउने आशा जागेको छ । पानी पर्न थालेपछि किसानले खाली रहेका खेतबारीमा धमाधम रोपाइँ गरिरहेका छन् ।
साउन महिनाको दोस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा धान रोपाइँ गर्न नपाएका किसानलाई केही राहत मिलेको छ । यसअघि उपलब्ध भएका ठाउँमा किसानले यसअघि नै स्यालो ट्यूबेल, मोटर, पम्पले तानेर वा खोलानाला एवं इनारको पानी प्रयोग गरी धान रोपेका थिए । ब्याडमै धानको बिउ छिप्पिनुका साथै रोपाइँ भएका ठाउँमा पनि खेत सुकेर धाँजा फाट्न थालिसकेको थियो । खानेपानीकै लागि पनि समस्या पर्न थालेको तराई/मधेसमा इनार, कल, पोखरी, ताल समेत सुक्दा पानीको हाहाकार उत्पन्न भएको थियो । अहिले भने पानीको सतह बढ्न थालेको स्थानीय बताउँछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभर करिब ८४ प्रतिशत रोपाइँ भएको छ । गत बर्ष सातवटै प्रदेशमा यतिबेला रोपाई अन्तिम अवस्था पुगेको थियो । यस पटक भने कोशीमा ८९.०३, मधेसमा ५७.२८, बागमतीमा ९२.९२, गण्डकीमा ८८.९७, लुम्बिनीमा ९५.९६, कर्णालीमा ९६.४७, सुदुरपश्चिममा ९९.७२ प्रतिशत गरी कुल ८३.८८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको छ ।
मधेसमा यस वर्ष ३ लाख ७२ हजार ६४५ हेक्टरमा वर्षे धान हुने अनुमान गरिएकोमा हालसम्म २ लाख १३ हजार ४३८.९५ हेक्टरमा मात्र रोपाइँ भएको छ । देशभर साउन ४ गतेसम्म ७२.१४ प्रतिशत रोपाइँ भएकोमा मधेसमा मात्र ४६.८३ प्रतिशत धान रोपिएको थियो ।
कृषि मन्त्रालयले जनाए अनुसार, कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये २ लाख ४६ हजार ६५.४४ हेक्टरमा धान रोपिएको छ । यस्तैगरी बागमतीमा १ लाख १५ हजार ६२१ मा वर्षे धान लाग्ने अनुमान गरिएकोमा हालसम्म १ लाख ७ हजार ४३४ हेक्टरमा रोपाइँ सकिएको छ । गण्डकीमा ८३ हजार ७९४, लुम्बिनीमा २ लाख ९० हजार ७०८, कर्णालीमा ३९ हजार ५९४ र सुदुरपश्चिममा १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भएको छ । यसपटक गण्डकीमा ९४ हजार १८२, लुम्बिनीमा ३ लाख २ हजार ९३९, कर्णालीमा ४१ हजार ४२ र सुदुरपश्चिममा १ लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान सरकारको छ ।
देशभर १३ लाख ८३ हजार ७३२.९८ हेक्टरमा वर्षे धान रोपाइँ हुने अनुमान गरिएको छ । गत बर्ष (आर्थिक बर्ष २०८१/८२ ) मा वर्षे र चैते दुबै गरि कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको थियो ।