यमनको तट नजिकै लाल सागरमा लाइबेरियाको ध्वजाबाहक जहाज ‘इटर्निटी सी’माथि आक्रमण भएको छ ।
सो आक्रमणमा परेर चालक दलका तीन जना सदस्यको मृत्यु भएको ‘अन्तर्राष्ट्रिय समुद्री संगठन’ का लाइबेरिया प्रतिनिधिले बताएका छन् । उनका अनुसार जहाजमाथि भयानक आक्रमण भएको थियो । साना डुंगाहरूबाट प्रहार गरिएको रकेट प्रोपेल्ड ग्रिनेड (आरपीजी)का कारण जहाज क्षतिग्रस्त भएको समाचारमा उल्लेख छ ।
आक्रमणपछि जहाज समुद्रमा ढल्किएको थियो । इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू थिए । यीमध्ये ११ जना फिलिपिन्सका र एक जना रुसका पनि थिए । यद्यपि अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।
जहाजमाथि भएको आक्रमणबारे युरोपेली संघको नौसेना बलले पनि पुष्टि गरेको छ । नौसेना बलका अनुसारशंकास्पद आक्रमणमा तीन नाविकको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ ।
हुथीहरूले अहिलेसम्म आक्रमणको दाबी नगरे पनि यमनमा रहेको अमेरिकी दूतावास र युरोपेली संघको सेनाले यसको लागि उनीहरूलाई दोष लगाएको छ । ‘हुथीहरूले फेरि एक पटक मानव जीवनको लागि स्पष्ट बेवास्ता देखाइरहेका छन् । लाल सागरमा नेभिगेसनको स्वतन्त्रतालाई कमजोर पारिरहेका छन्,’ यमनको व्यापक युद्धका कारण लगभग एक दशकदेखि साउदी अरेबियाबाट सञ्चालन भइरहेको अमेरिकी दूतावासले भनेको छ ।
हुथीहरूले गाजामा आक्रमण अन्त्य गर्न इजरायली सेनालाई दबाब दिने अभियानको एक भागको रूपमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई लक्षित गरिरहेको बताएका छन् । जसलाई अधिकार समूहहरूले नरसंहारको रूपमा वर्णन गरेका छन् । गत आइतबार म्याजिक सीज नामक जहाजमा भएको आक्रमणपछि हुथीहरूले इजरायलसँग सम्बन्ध भएका कम्पनीहरूको स्वामित्वमा रहेका जहाजहरू ‘वैध लक्ष्य’ हुने बताएका थिए ।