पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान शहीदगेट भत्काइएको हो ।
मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डले दमौली प्रवेश गर्ने विन्दुमा रहेको शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । सो शहीदगेट नेकपा (माओवादी) केन्द्रले निर्माण गरेको थियो । शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका शहीदको विवरण समेटिएको थियो ।
मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा विभाजन गरि काम भइरहेको छ ।
मुग्लिन पोखरा सडक विस्तारका लागि पाँच अर्ब ४२ करोड विनियोजन
सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमवार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि रकम विनियोजन गरिएको जानकारी दिए ।
मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
यस्तै तनहुँको डुम्रेबाट मनाङको चामेसम्म सडक विस्तारका लागि पनि बजेट विनियोजन गरिएको छ । डुम्रेबाट लमजुङको बेँसीसहर हुँदै मनाङको चामेसम्मको सडक विस्तारका लागि ३४ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।
तनहुँको डुम्रेबाट २०२९ सालमा खन्न सुरु गरिएको सडक बेँसीसहरको ४२ किमीसम्म पुर्याउन साढे एक दशक लागेको थियो । २०४६ सालमा ट्रयाक खुलेकामा २०५२ सालदेखि सिङ्गल लेनको कालोपत्र गरिएको थियो ।