प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सुरक्षित र सतर्क रहन नागरिकलाई आग्रह गरेकी छन् । विपतको अवस्थामा सरकार साथ रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी हुन उनले आग्रह गरेकी हुन् ।
बाढीपहिरो बढ्दै गएपछि देशवासीको नाममा सम्बोधन गर्दै उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छन् । अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिएकी छन् । ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आँकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ प्रधानमन्त्री कार्कीले भिडियो सन्देशमा भनेकी छन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रस्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’
सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छन् । महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको पनि उनले जानकारी दिएकी छन् ।
पूर्णपाठ :
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं र जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।
यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन् ।
हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौं र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौं । हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौं र अवस्थाले अनुमति दिनेबित्तिकै सडक मार्गहरु पुनः खोल्नलाई प्राथमिकता दिनेछौं । हाम्रा टोलीहरुले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु । तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस् । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस् । बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवातजावत नगर्नुहोस् । तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा उच्च छ ।
यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्वआँकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस् । प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरि चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् । सम्भाव्य विपदको जोखिमको आँकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
हामी तपाईहरुको चिन्ता र कठिनाइलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरु आज तपाईंहरुसँग छन् । हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं । हामी नियमित रुपमा अद्यावधिक सूचना तथा जानकारीहरु प्रसारण गरिरहनेछौं । अन्तमा यहाँहरुसँग मेरो अनुरोध छ, यहाँहरु सुरक्षित र सावधानीपूर्वक रहनुहोस् । धन्यवाद ।