एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

Yangle News
Yangle News
२०८२ अशोज ५ गते
एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

अवरुद्ध नारायणगढ-मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी खुलेको हो ।

सडक दुईतर्फी नै खुलाउन पहिरो पन्छाउने काम निरन्तर गरिने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । अहिले सडक खुलेपछि रोकिएका गाडी र यात्रु विस्तारै गन्तव्यतर्फ लाग्न थालेका छन् । गाडी चालकलाई हतार नगर्न र लेन अनुशासनको पालन गर्न डिभिजन सडक कार्यालयले आग्रह गरेको छ ।

शुक्रबार बेलुकादेखि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले सडक खुलेसँगै केही सहज भएको बताए । उनका अनुसार लामो जाम सहज हुन भने समय लाग्नेछ ।

मुग्लिनबाट झन्डै साढे २ किलोमिटर नारायणगढतर्फ पर्ने तुइनखोलामा सडक अवरुद्ध थियो । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका थिए ।

मनसुन अझै सक्रिय भएकाले वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने, सडक माथिबाट ढुंगा सहितको पहिरो झर्न सक्ने जोखिम हुने हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न विभागको अनुरोध छ ।