पूर्वराजा शाहको स्वागत र्‍यालीमा अनुमानभन्दा बढी सहभागी

Yangle News
Yangle News
२०८१ फाल्गुन २५ गते
पूर्वराजा शाहको स्वागत र्‍यालीमा अनुमानभन्दा बढी सहभागी

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन् । उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अभियन्ता दुर्गा प्रसाईलगायत विमानस्थल पुगेका थिए । स्वागतमा सहभागी हुन राजावादीले केही दिनदेखि नै सार्वजनिक आह्वान गरेका थिए । र्‍याली गौशाला, चाबहिल हुँदै साँझ महाराजगञ्जस्थित निर्मल निवास पुगेको थियो । उनलाई पोखरमा पनि राजावादीहरुले पञ्चेबाजासहित बिदाइ गरेका थिए ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी, आदित्यनाथको तस्बिर

समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल समेत भएको थियो ।

र्‍यालीका सहभागीहरुले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिरसमेत बोकेका थिए । उनीहरुले एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर बोकेर र्‍यालीमा सहभागी भएका थिए । उक्त ब्यानरमा ‘राजसंस्था पुनर्स्थापना गरौँ’ नारा प्रयोग गरिएको थियो । आदित्यनाथको तस्बिरका विषयमा राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जामार्फत चासो व्यक्त गरेका छन् । राप्रपाका नेताहरुले भने उक्त तस्बिरका विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो भने मोटरसाइकल लगायतलाई प्रवेश निषेध गरिएको थियो । सबैभन्दा बढी पर्यटक र यात्रुहरूलाई सकसमा परका थिए । उनीहरु आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरु पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो । साँझसम्मै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।

पूर्वराजा शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको प्रहरीको आँकलन छ । यसअघि करिब १० हजार मानिस र्‍यालीमा सहभागी हुने सरकारले अनुमान गरेको थियो ।

भिडियो वक्तव्यपछि सरागर्मी

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले एक भिडियो सन्देशमार्फत अब आफू चुप नलाग्ने आसयसहित आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरुले आफ्ना गतिविधि बढाउँदै लगेका हुन् । उनले भिडियो सन्देशमा त्यागले कद बढाउने र त्यागलाई कमजोरी नठान्न भन्दै चेतावनीयुक्त भाषा प्रयोग गरेका थिए ।

राजावादीहरुले वर्तमान व्यवस्थाले देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार र बेतिथि बढेको जिकिरसहित राजतन्त्रको विकल्प नभएको बताउँदै आएका छन् ।

गणतन्त्र पक्षधर गठबन्धन बनाउन प्रस्ताव

राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका लागि जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो । तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ ।’ नेपाली जनताले युगौँयुगदेखि सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु अहिले नेपालको राष्ट्रिय र ऐतिहासिक आवश्यकता बनेको जनमोर्चाले उल्लेख गरेको छ ।