बुल्गेरियामा भ्रष्टाचार र कर वृद्धि विरुद्धको विशाल विरोध प्रदर्शनले अन्ततः प्रधानमन्त्री रोसेन झेलियाज्कोभलाई घुँडा टेक्न बाध्य बनाएको छ । लाखौं मानिसहरू सडकमा उत्रिएर संसद् भवनमा प्रदर्शन गरेपछि प्रधानमन्त्री राजीनामा दिन बाध्य भएका हुन् ।
निरन्तर दबाबबीच संसद्मा अविश्वासको मतदान हुनुभन्दा ठीकअघि प्रधानमन्त्रीले बिहीबार टेलिभिजनमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् । जनताको आक्रोश सरकारको आर्थिक नीतिहरू, लाभांश कर वृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफलताबाट उत्पन्न भएको थियो ।
विपक्षीहरूले सरकारले बढ्दो खर्चको बोझ सिधै नागरिकहरूमा सारिरहेको आरोप लगाएका छन् । बुल्गेरिया जनवरी १ मा युरोजोनमा सामेल हुने तयारीमा छ, तर राजीनामाले ठूलो राजनीतिक धक्का दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
विरोध प्रदर्शनले सरकारलाई २०२६ को युरो-बजेट फिर्ता लिन पनि बाध्य पारेको छ । बुल्गेरियाले २०२१ देखि सातवटा चुनाव गराइसकेको छ । अब राष्ट्रपति रुमेन रादेवले संसद्लाई नयाँ सरकार गठन गर्न आग्रह गर्नेछन् ।
यदि दलहरू सहमतिमा पुग्न असफल भएमा आठौं चुनावसम्म देश चलाउन अन्तरिम सरकार नियुक्त गरिने समाचारमा उल्लेख छ । प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् कि यदि सुधारहरू लागू गरिएन भने आन्दोलन अझ हिंसात्मक हुनेछ । सरकारको नीतिहरूबाट असन्तुष्ट जनता महिनौंदेखि सडकमा छन् ।
बुल्गेरियाली सरकारलाई कमजोर आर्थिक नीतिहरू र भ्रष्टाचारलाई नियन्त्रण गर्न निरन्तर असफल भएको आरोप लगाइएको थियो । जसले गर्दा व्यापक जनआक्रोश निम्त्याएको थियो ।