भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्धार

Yangle News
Yangle News
२०८३ जेष्ठ १६ गते
भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्धार

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाएर राखिएका ४५३ जना नेपालीलाई सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतीय प्रहरीसँगको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली गएराति कुशीनगर पुगेको थियो । संयुक्त सुरक्षा अभियान सञ्चालन गरी त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले आठवटा भारतीय बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको जानकारी दिए ।

उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए । आकर्षक जागिर र राम्रो कमाइ हुने प्रलोभन देखाएर एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्‍याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन सुरु गरेको थियो । ‘प्रहरीले पाएको सूचनाका आधारमा पिछा गरेर बन्धक बनाएर राखिएको स्थल पत्ता लागेपछि भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको हो,’ प्रहरी उपरीक्षक शाहीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्‍याइएका उनीहरूबाट प्रतिव्यक्ति ७ हजार भारतीय रुपैयाँदेखि १ लाखसम्म रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गर्दै लैजाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।

उनीहरूलाई भारत पुर्‍याउने समूह तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।