नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा

Yangle News
Yangle News
२०८२ जेष्ठ १६ गते
नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा

सरकारले राजावादीको आन्दोलनलाई लक्षित गर्दै नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ ।

उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रमुख ऋषिराम तिवारीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

यसअघि २०८१ फागुन २६ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किनुअघि काठमाडौंका विभिन्‍न स्थानमा निषेधाज्ञा थपिएको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले त्यसबेला हरेक दुई/दुई महिनामा निषेधाज्ञा थप्ने कार्यलाई निरन्तरता मात्रै दिइएको बताएका थिए ।

त्यसबेला राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो ।

विज्ञप्ति :

Yangle News