सुस्त आर्थिक गतिविधि र कर्जा प्रवाहमा देखिएको मन्दीका बाबजुद नेपालका २० वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको माघ महिनासम्ममा उल्लेख्य नाफा आर्जन गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार, माघ मसान्तसम्ममा २० वाणिज्य बैंकहरूले कुल ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । गत वर्ष माघसम्म बैंकहरूको कुल नाफा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मात्र थियो ।
पछिल्लो तथ्यांकअनुसार नबिल बैंकले अन्य बैंकहरूलाई निकै पछाडि छाड्दै आफ्नो अग्रतालाई थप बलियो बनाएको छ । नबिलले माघ महिनालसम्म ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.२१ प्रतिशतको वृद्धि हो । नबिल बैंकको यो नाफा समग्र बैंकिङ क्षेत्रकै उच्च हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ कमाउँदै आफ्नो स्थान सुरक्षित राखेको छ ।
यस वर्षको माघसम्मको तथ्यांकमा सबैभन्दा बढी चर्चा कुमारी बैंकको छ । कुमारी बैंकले आफ्नो नाफामा ३२९.८६ प्रतिशतको चामत्कारिक वृद्धि गर्दै ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष सोही अवधिमा बैंकले मात्र ७३ करोड ८६ लाख रुपैयाँ कमाएको थियो । त्यस्तै, सिद्धार्थ बैंकले पनि आफ्नो नाफा झन्डै दोब्बर (९९.५७ प्रतिशत) ले वृद्धि गरी १ अर्ब ७० करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि उत्साहजनक सुधार देखिएको छ ।
समग्र बजारमा नाफा बढेको देखिए पनि २० मध्ये ८ वटा बैंकको नाफा भने घटेको छ । नाफा घट्ने बैंकहरूमा लक्ष्मी सनराइज बैंक सबैभन्दा अगाडि छ । यो बैंकको नाफा ८४.७३ प्रतिशतले घटेर मात्र २४ करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ ।यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (३६.१८ प्रतिशत), सिटिजन्स बैंक (३६.०९ प्रतिशत), प्रभु बैंक (२५.६६ प्रतिशत) र नेपाल बैंक (२४.४० प्रतिशत) को नाफामा पनि उल्लेख्य गिरावट आएको छ । एभरेष्ट बैंक र एनआईसी एशिया बैंक जस्ता ठूला बैंकहरूको नाफामा पनि सामान्य गिरावट देखिएको छ ।
बैंकरहरूका अनुसार खराब कर्जाको व्यवस्थापन र ब्याज आम्दानीमा भएको वृद्धिले केही बैंकको नाफा बढाउन सहयोग गरेको छ । तर, अर्थतन्त्रमा अझै पूर्ण सुधार नभएका कारण केही बैंकहरूले प्रोभिजनिङ (नोक्सानी व्यवस्था)मा बढी रकम छुट्टाउनुपर्दा नाफामा संकुचन आएको हो ।