सुडानमा ‘आरएसएफ’को आक्रमणबाट ५६ जनाको मृत्यु

Yangle News
Yangle News
२०८१ चैत्र ३१ गते
सुडानमा ‘आरएसएफ’को आक्रमणबाट ५६ जनाको मृत्यु

सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)को आक्रमणमा परी दर्जनौंको ज्यान गएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६ जनाको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ । स्थानीय समितिका अनुसार, आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए ।

उम्म कदादाह सहर डारफुर क्षेत्रको अन्तिम ठूलो सहर इल-फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको सहर हो । स्थानीय प्रतिरोध समितिका अनुसार शुक्रबार र शनिबार भएका आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध सुरु भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ ।

उम्म कदादाह इलफाशरबाट करिब १८० किलोमिटर पूर्वमा अवस्थित छ । अर्धसैनिक समूहले सहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो । समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई सहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण संचार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।

शनिबारसम्म इल-फाशर नजिकको शिविरमा भएका आक्रमणमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ, जसमा महिला तथा बालबालिका समेत छन् । मृतकहरूको पहिचान अझै खुल्न नसकेको बताइएको छ । सुडानी सेनाले इल-फाशर सहरमा मात्रै ७४ जना नागरिकको मृत्यु र १७ जना घाइते भएको जनाएको छ ।

स्थानीय स्रोतका अनुसार इन्टरनेट र सञ्चार सेवाहरू अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण प्राप्त गर्न सकिएको छैन ।