जाजरकोट भूकम्प पीडितका लागि सरकारले तत्काल १० करोड रुपैयाँ पठाउने

Yangle News
Yangle News
२०८० कार्तिक १८ गते
जाजरकोट भूकम्प पीडितका लागि सरकारले तत्काल १० करोड रुपैयाँ पठाउने

 

सरकारले जाजरकोट र रुकुम पश्चिममा आएको विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५-५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई सो रकम पठाउने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

अधिकारीका अनुसार हालसम्म जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् । घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज, उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन् ।