झन् घट्यो वाणिज्य बैंकहरुको व्याजदर

Yangle News
Yangle News
२०८२ साउन ३१ गते
झन् घट्यो वाणिज्य बैंकहरुको व्याजदर

बैंकहरुमा अधिक तरलता देखिएसँगै निरन्तर ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी सुस्ताउँदा बैंकहरुले अधिक तरलताको सामना गरिरहेका छन् ।

यसको पुष्टि वाणिज्य बैंकहरुले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले पनि पुष्टि गरेको छ । बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा झन् घटेको छ ।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ५ दशमलब ६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेको बैंकहरुले भदौमा अधिकतम औषतमा ५ दशमलब ५७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । त्यस्तै, साउनमा संस्थागत मुद्दति निक्षेपमा ४ दशमलब ११ प्रतिशतविन्दु रहेको बैंकहरुको अधिकतम औषत ब्याजदर भदौमा ३ दशमलब ९६ प्रतिशत विन्दुमा झरेको छ ।

२० वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले भदौका लागि ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । प्रभु बैंकले भने बढाएको छ ।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलब २६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले भदौमा अधिकतममा ५ दशमलब १३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ दशमलब १३ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । यता प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १ दशमलब १ प्रतिशत विन्दु बढाएर ५ दशमलब ३५ प्रतिशत पुर्याएको छ । साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक प्रभु बैंक थियो । व्यक्तिगत मुद्दति निक्षेपमा भदौमा

एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । सो बैंकले अधिकतममा ६ दशमलब २५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको हो । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैंकको रहेको छ । सो बैंकले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ ।

संस्थागत मुद्दति निक्षेपमा भने ७ वाणिज्य बैंकले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् । यस्तो मुद्दति निक्षेपको ब्याजदर औषतमा शुन्य दशमलब १५ प्रतिशतविन्दु घटेको हो ।