वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साविक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रोपटक उपाधि चुमेको हो ।
च्याम्पियन बनेको कर्णालीले उपाधिसहित नगद १० लाख प्राप्त गरेको छ । उपविजेता ललितपुर क्विन्सले नगद ५ लाख प्राप्त गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गरेको हो । शुरूका दुई सेट लगातार जितेको कर्णालीले तेस्रो र चौथो सेट लगातार गुमाउन पुग्यो । कर्णालीले २६-२४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा ललितपुरलाई पराजित गरेको हो ।
गत वर्षको फाइनलमा पनि कर्णालीले ललितपुरलाई नै पराजित गरेको थियो । पहिलो संस्करणमा पनि कर्णालीले दुई सेट लगातार जित्दा त्यसपछिका दुवै सेट गुमाएर अन्तिम सेटमा ललितपुरलाई स्तब्ध पारेको थियो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण हो । दोस्रो संस्करणका यसअघि खेलहरू पोखरामा खेलाइएको थियो । तर, जेनजीको प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण खेल बीचमै स्थगित भएको थियो । लिगमा ६ टोलीको सहभागिता थियो ।
लगातार दोस्रोपटक टोलीलाई च्याम्पियन बनाएका कर्णालीका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर घोषित भइन् । लुम्बिनी लाभाजकी अरुणा शाहीले उत्कृष्ट सेटरको अवार्ड जितिन् ।
दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, संगम महतो उत्कृष्ट ब्लकर, तेस्रो भएको काठमाडौं स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन् ।
दोस्रो इडब्लुभीमा उत्कृष्ट
सर्वोत्कृष्ट खेलाडी – सुमित्रा रेग्मी (कर्णाली यश्विस)
उत्कृष्ट सर्भर – साफिया पुन (कर्णाली यश्विस)
उत्कृष्ट लिबेरो – सलिना श्रेष्ठ (ललितपुर क्विन्स)
उत्कृष्ट सेटर – अरुणा शाही (लुम्बिनी लाभाज)
उत्कृष्ट ब्लकर – संगम महतो (ललितपुर क्विन्स)
उत्कृष्ट स्पाइकर – उषा भण्डारी (काठमाडौं स्पाइकर्स)
उत्कृष्ट प्रशिक्षक – कुमार राई (कर्णाली यश्विस)