गौतम बुद्ध विमानस्थल सञ्चालनमा गम्भीर हुनुपर्ने बेला आयो   

Yangle News
Yangle News
२०८० बैशाख २८ गते
गौतम बुद्ध विमानस्थल सञ्चालनमा गम्भीर हुनुपर्ने बेला आयो   

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्न सबैजना गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइएको छ । यसका लागि ट्राभल कम्पनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माण गर्नुपर्ने सरोकारवालाको  भनाइ थियो ।

लुम्बिनीमा आयोजित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टमा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्तय अवधेश कुमार त्रिपाठीले गौतमबुद्धले जीवनमा एक पटक लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने प्रसंग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरुले लुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।

Yangle News

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा लुम्बिनीमा तीन दिने मार्ट आज सुरु भएको हो । उद्घाटन अघि आज विहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरिएको थियो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको बताए । होटल पवन प्यालेसमा जारी मार्टमा नेपाल सहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल एण्ड टूर कम्पनीहरु सहभागी छन् ।

त्यस्तै विदेशी प्रतिनिधीहरु, सरकारका प्रतिनिधी, नाटा सदस्य, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागि छन् ।

309 views