सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४ सय २९ जनालाई जनही १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
सरकारले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति दिन, प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकृत गर्ने सरकारको निर्णय छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनःसंरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसी (काठमाडौं)को संयोजकत्वमा ‘नेपाल स्टक एक्सचेन्स लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२’ गठन गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।
सरकारका प्रवक्ता खरेलले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठ (नवलपरासी)लाई तोक्ने निर्णय सरकारको छ ।