अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ले नेपाललाई ‘बीबी माइनस’ क्रेडिट रेटिङ दिएको छ । फिचले नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ दिएको हो ।
गत कात्तिक १८ गतेदेखि २० गतेसम्म ‘फिच’को टोलीले दोस्रो वर्षको क्रेडिट रेटिङको स्थलगत मूल्यांकन गरेको थियो । मंगलबार फिचले उक्त मूल्यांकनको रिपोर्ट सार्वजनिक गरेको हो । पालको ‘बीबी माइनस’ रेटिङले अत्यधिक सहुलियतपूर्ण सरकारी तथा बाह्य ऋणभार, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रमा आधारित ठोस मध्यमकालीन वृद्धि सम्भावनालाई देखाएको छ ।
फिचले अविकसित अर्थतन्त्र, बाह्य झट्का र प्राकृतिक प्रकोपको जोखिम साथै प्रतिव्यक्ति जीडीपी र सुशासन मेट्रिक्सजस्ता कमजोर संरचनागत विशेषताहरूले ‘बीबी’ श्रेणीका अन्य देशहरूको तुलनामा रेटिङलाई सीमित गरेको छ ।
फिचले संघीय सरकारको घाटा आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको ३.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । फिचले चालू आर्थिक वर्षमा संघीय सरकारको ऋण जीडीपीको ४६.१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
त्यस्तै, फिचले सरकारको चालू खाता ६.७ प्रतिशतबाट २.४ प्रतिशतमा संकुचित हुने अनुमान गरेको छ । बैंकहरूको वित्तीय सुदृढता सूचकहरू कमजोर हुँदै गएको फिचले औंल्याएको छ । नेपालले प्राप्त गरेको ‘बीबी माइनस’ रेटिङले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू तथा विदेशी लगानीकर्ताको दृष्टिमा नेपालको ऋण क्षमता अपेक्षाकृत सुरक्षित रहेको संकेत गर्छ । तर सुधारको पर्याप्त सम्भावना अझै बाँकी रहेको देखाउँछ ।
रेटिङमा ‘ट्रिपल ए’ अत्यन्त राम्रो मानिन्छ भने त्यसपछि क्रमश: एए प्लस, एए, ए प्लसलाई र ए हुन्छ । गत आर्थिक वर्षको मंसिर ७ गते नेपालले पहिलोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) गर्दै ‘बीबी माइनस’ रेटिङ पाएको थियो ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’लाई नेपाल सरकारले दुई वर्षसम्म मूल्याङ्कन र तेस्रो वर्षमा प्राविधिक सहयोगका लागि छनोट गरेको हो । सोहीअनुसार अहिले दोस्रो वर्षको रेटिङ समाप्त भएको छ । अहिले चलिरहेको दोस्रो वर्षको ‘रेटिङ’पछि तेस्रो वर्षको ‘रेटिङ’ गराउन पुनः ‘रेटिङ’ कम्पनी छनोट गर्नुपर्नेछ ।