संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो ।
अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ । अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ । अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले आज दिउँसो ३:३५ बजे दुई देशका महानिर्देशक (डीजीएमओ)हरूबीच कुराकानी भएको जानकारी दिए । मिश्रीका अनुसार दुवै देशले साँझ ५ बजेदेखि हवाई, जल र जमिनमा आक्रमण रोक्ने निर्णय गरेका छन् । योसँगै दुई देशबीच युद्धविरामको घोषणा भएको छ । मिश्रीले मे १२ (सोमबार) दुवै देशका अधिकारीहरूले थप रणनीतिबारे छलफल गर्ने बताए ।
भारतीय सेनाले युद्धविराम सम्झौताको पालना गर्ने तर आफू सतर्क रहने बताएको छ । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने,‘सेना युद्धविराम सम्झौताको पालना गर्नेछ । तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्क रहनेछ ।’
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पाकिस्तान र भारत पूर्ण तत्काल युद्धविराममा सहमत भएको बताए । इशाक दारले भने,‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन् । पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ ।’
युद्धविराम हुने घोषणासँगै पाकिस्तानले आफ्नो नियमित उडान सुरू गरेको छ । पाकिस्तान विमान प्राधिकरणले विज्ञप्ति जारी गरेर हवाई उडानहरू नियमित भएको जानकारी दिएको छ । दुई देशबीच तनाव बढेपछि पाकिस्तानको प्राधिकरणले उडानहरू रोकेको थियो ।
गत अप्रिल २२ मा कश्मिरको पहलगाममा भएको आतंककारी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनामा भारतले पाकिस्तानलाई दोषारोपण गरेको थियो । तर पाकिस्तानले भने आफ्नो संलग्नता अस्वीकार गरेको थियो । यसबीच भारतले सैनिक अपरेसन घोषणा गर्दै हवाई आक्रमण थालेपछि पाकिस्तान प्रत्याक्रमणमा उत्रिएको थियो । आणविक शक्तिसम्पन्न दक्षिण एसियाली दुई छिमेकी मुलुकबीच एकाएक द्वन्द्व बढेपछि दक्षिण एसियामा युद्धको बादल मडारिएको थियो ।
भारत र पाकिस्तानबीच पछिल्लो २४ घण्टामा तनाव निरन्तर बढिरहेको र भारतले पाकिस्तानमाथि लामो दूरीको उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको समयमा युद्धविराम सम्झौता भएको हो ।