हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विशेषगरी काठमाडौँ उपत्यकामा मनाइने घोडेजात्राका दिन नेपाली सेनाले टुँडिखेलमा घोडा सहितको अश्वकला,युद्धकला, शारीरिक व्यायाम लगायतको प्रदर्शन गर्ने गर्दछ । त्यस्तै ललितपुरमा एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने गुरुमापा राक्षसले सहरका बालबालिकालाई खान थालेपछि स्थानीयले त्यसको संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई दुख नदेओस भनेर हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको किम्वदन्ति रहेको छ ।
सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर शहरका बालबालिकालाई गुरुमापाबाट खतरा नहुने जनविश्वास रहेको छ ।
घोडे जात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।