बाढी प्रभावित क्षेत्रमा करिब ६ हजार प्रहरी परिचालन

Yangle News
Yangle News
२०८३ भदौ १३ गते
बाढी प्रभावित क्षेत्रमा करिब ६ हजार प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राख्दै करिब ६ हजार जनशक्ति परिचालन गरेको जनाएको छ ।

नेपाल प्रहरीका अनुसार ५ हजार ९ सय १७ जना प्रहरी प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक तथा नायव महानिरीक्षकहरूको प्रत्यक्ष अनुगमन तथा निर्देशनमा उद्धार टोली परिचालित रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

भोटेकोशी र त्रिशूली नदी किनारका प्रभावित जिल्लाहरूमा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको उहाँले बताउनुभयो । उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण प्रहरी कर्मचारीको बिदा रद्द गरी २४ सै घण्टा स्ट्यान्डबाइ अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।

रसुवा लगायत अति प्रभावित क्षेत्रमा थप विपद् उद्धार टोली तथा सञ्चार टोली परिचालन गरिएको छ । दूरसञ्चार निकायसँग समन्वय गरी सञ्चार सम्पर्क सहज बनाउन अस्थायी मोबाइल टावर स्थापनाका लागि समेत टोली पठाइएको प्रवक्ता काफ्लेले बताउनुभयो ।

बाढी विपद्का क्रममा नेपाल प्रहरीका २६ जना कर्मचारी बेपत्ता रहेको प्रहरीले जनाएको छ । हालसम्म फेला परेकामध्ये दुई जनाको शव पहिचान गरी आफन्तलाई बुझाइएको छ भने बाँकी शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्न विशेष टोली परिचालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।