बुद्ध एयर जहाज दुर्घटना : को-पाइलटसहित ७ यात्रु सामान्य घाइते

Yangle News
Yangle News
२०८२ पुस १९ गते
बुद्ध एयर जहाज दुर्घटना : को-पाइलटसहित ७ यात्रु सामान्य घाइते

भद्रपुर विमानस्थलमा शुक्रबार राति ९:१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्री घाइते भएका छन् । घाइतेहरूमा भद्रपुर-१० का ४० वर्षीय सविन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरीले बताएको छ ।

उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रबार राति ८:२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९:१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।

जहाज दुर्घटनामा परेलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्‍याएको थियो ।