इजरायल-इरान युद्ध : नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

Yangle News
Yangle News
२०८२ फाल्गुन १६ गते
इजरायल-इरान युद्ध : नेपालीलाई उच्च सतर्कता अपनाउन सरकारको आग्रह

परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एडभाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । सरकारले इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्न, सकेसम्म घरभित्रै रहन, सतर्कता तथा सावधानी अपनाउन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनेको छ । यसका साथै, इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न, काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन अनुरोध गरेको छ ।

इजरायल वा इरान भ्रमणको योजना बनाइरहेका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न सरकारले कडा आग्रह गरेको छ । मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न र सम्बन्धित देशका निकायले सुझाएका सुरक्षा उपाय पालना गर्न सरकारले भनेको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित हुँदै गइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षा मापदण्डरूको पालना गर्न आग्रह गरेको छ । राजदूतावासले एक एडभाइजरी जारी गर्दै इजरायलमा रहेका नेपालीका लागि सातबुँदे सुरक्षा निर्देशन सार्वजनिक गरेको हो ।