अफ्रिका कप अफ नेसन्स : सेनेगल दोस्रोपटक च्याम्पियन

Yangle News
Yangle News
२०८२ माघ ५ गते
अफ्रिका कप अफ नेसन्स : सेनेगल दोस्रोपटक च्याम्पियन

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । राजधानी रबातमा भएको फाइनलमा घरेलु टोली मोरोक्कोलाई १-० ले हराउँदै सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

निकै तनावपूर्ण र विवादित खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा पापे गुएयेले शक्तिशाली प्रहार गर्दै टोलीलाई निर्णयक अग्रता दिलाए । त्यही गोलले सेनेगललाई च्याम्पियन बनायो । फाइनलमा पेनाल्टी सदुपयोग गर्न नसक्दा मोरक्कोको ५० वर्षपछिको सपना अधुरै रह्यो । सन् २०३० को विश्वकप आयोजनाको तयारीमा रहेको मोरक्कोका लागि घरेलु मैदानमा यो हार निकै पीडादायी बन्यो ।

‌दोस्रो हाफको इन्जुरी समयमा खेलमा विवाद उत्पन्न भएको थियो । भीएआरको सहयोगमा मोरोक्कोलाई पेनाल्टी दिइएको थियो तर, ब्राहिम डियाजको फितलो प्रहार सेनेगलका गोलरक्षकले बचाए ।

त्यसअघि इस्माइला सारले सेनेगलका लागि गोल गरेको दाबी गरे पनि रेफ्रीको निर्णयका कारण भीएआरको प्रयोग गरिएको थिएन । त्यो निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका खेलाडी केहीबेर मैदान छाडेर विरोधमा उत्रिएका थिए । भीएआर जाँचपछि पेनाल्टी दिइएको थियो, जसका कारण खेल करिब १४ मिनेट रोकिएको थियो । पेनाल्टीको निर्णयपछि दर्शकदीर्घामा पनि तनाव बढेको थियो ।

सन् २०२१ मा इजिप्टलाई हराएर पहिलोपटक उपाधि जितेको सेनेगलका लागि यो लगातार दोस्रो सफलता हो । मोरक्कोले यसअघि अफ्रिका कप अफ नेसन्स ५० वर्षअघि मात्र एकपटक जितेको थियो ।

Yangle News