आर्थिक वर्ष २०८१/८२ को सात महिनामा आयात-निर्यात दुवै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको काठमाडौं देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थ्रेड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१ / ८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २३ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७५ प्रतिशतले वृद्धि भएको छ ।
९ खर्बभन्दा बढी रेमिट्यान्स
सात महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।
सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड बराबरको भएको थियो ।