अमेरिका-इरान सम्बन्धमा आशाको किरण, प्रत्यक्ष वार्ताको तयारी

Yangle News
Yangle News
२०८२ बैशाख ४ गते
अमेरिका-इरान सम्बन्धमा आशाको किरण, प्रत्यक्ष वार्ताको तयारी

इरानका उपविदेशमन्त्री काजेम गारिबाबादीले तेहरान र वासिङ्टनबिच दोस्रो चरणको अप्रत्यक्ष वार्ता इटालीको राजधानी रोममा हुने बताएका छन् ।

वार्ताको स्थान परिवर्तनका लागि अर्को पक्षबाट कुनै नयाँ अनुरोध नपाएको र दोस्रो चरणको वार्ता कार्यक्रम रोममा हुने तय भएको उनले बताएका हुन् । वार्तास्थल जहाँ भएपनि ओमानले उनीहरूलाई सहजीकरण र मध्यस्थता जारी राख्ने उनले बताए ।

यसअघि, तेहरानको आणविक कार्यक्रमबारे इरानका विदेशमन्त्री सेइद अब्बास अराघचीले शनिबार ओमानको राजधानी मस्कटमा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफसँग भेटवार्ता गरेका थिए । दुवै पक्षले उक्त वार्ता रचनात्मक रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चको सुरुमा संयुक्त अरब इमिरेट्स (युएई) मार्फत् इरानी नेताहरूलाई इरानको आणविक कार्यक्रमबारे वार्ताको प्रस्ताव सहितको पत्र पठाएको बताएका थिए । प्रस्तावलाई स्वीकार गर्दै इरानले ‘अप्रत्यक्ष’ वार्ताका लागि सहमति जनाएको थियो ।

इरानले सन् २०१५ को जुलाईमा बेलायत, चीन, फ्रान्स, जर्मनी, रूस र संयुक्त राज्य अमेरिकासँग आणविक सम्झौता गरेको थियो । यस सम्झौताअन्तर्गत तेहरानले प्रतिबन्धबाट राहतको बदलामा आफ्नो आणविक गतिविधि सीमित गर्न सहमत भएको थियो।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकाल अन्तर्गत सन् २०१८ को मेमा एकतर्फी रूपमा आफ्नो देशलाई सम्झौताबाट बाहिरिएको घोषणा गरेका थिए र इरानमाथि पुनः प्रतिबन्धहरू लगाइएको थियो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका आणविक प्रमुख तेहरानमा आइपुगेका छन् । संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले तेहरान र वासिङ्टनबीच नयाँ चरणको आणविक वार्ता हुनुअघि बिहीबार इरानको आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद इस्लामीसँग भेटवार्ता गरेका हुन् ।

ग्रोसीले आफूहरूको भेट ‘महत्वपूर्ण’ भएको बताउनुभएको छ । ‘कूटनीतिको तत्काल खाँचो रहेको बेला इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिबारे विश्वसनीय आश्वासन दिन आईएईएसँग सहकार्य अपरिहार्य छ,’ उनले भने ।