नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सही लयमा छैन । यसको पुष्टि स्वयं एन्फाभित्रै भइरहेको विवाद तथा एन्फाविरुद्ध खेलाडी, खेलाडी संघ र क्लबहरुले गरिरहेको धर्ना एवं प्रदर्शनहरुले पनि गर्छ ।
चुस्त र परिपक्व क्यालेण्डर अनि सोहीअनुसार व्यस्त फुटबल । खासमा फुटबलको प्रगतिका खातिर माग हुने कुरा यही हो । विडम्वना, एन्फा पदाधिकारी र क्लबहरु पत्रकार सम्मेलन, स्पष्टीकरण-कारबाही, प्रेस विज्ञप्ति र धर्नामा रुमल्लिइरहेको छ । फलतः नेपाली फुटबलको स्तर दिनानुदिन खस्कँदो छ ।
पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ। फिफाले गत बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल तेस्रोबाट चौथो स्थानमा झरेको छ । फिफा वरीयतामा नेपाल १ सय ८२औं स्थानमा ओर्लिएको छ। अघिल्लो वरीयताभन्दा नेपाल २ स्थान झरेको हो ।
६.८८ अंक गुमाएर प्राप्त गरेको यो स्थान नेपालका लागि पछिल्लो ९ वर्षकै सबैभन्दा न्यून वरीयता भएकाले चिन्ताजनक मानिएको छ। नेपालभन्दा अघि रहेको बंगलादेशले १७ अंकभन्दा बढी जोडेको छ। नेपालले उल्टो अंक गुमाएको छ । नयाँ वरीयताअनुसार नेपाललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको छ।
फिफाको नयाँ वरीयता सार्वजनिक भएसँगै दक्षिण एसियाली फुटबलमा ठूलो उतारचढाव देखिएको छ । भारत १ सय ४२औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ । बंगलादेशले यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १-० ले हराएको थियो । त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २-२ को बराबरीमा टुंगिएको थियो ।
नेपाल एसियन कप छनोटमा मलेसियासँग १-० ले पराजित भएको थियो । साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ। अब नेपालभन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान मात्र पछाडि छन् ।
फिफा वरीयताको शीर्ष ४ यथावत रहेको छ । स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ । ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ ।
साफ राष्ट्रको फिफा वरीयता
भारत-१४२
माल्दिभ्स-१७३
बंगलादेश-१८०
नेपाल-१८२
भुटान-१९२
श्रीलंका-१९४
पाकिस्तान-१९९ ।