मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि गोरखापत्र संस्थानको अध्यक्ष नियुक्न गर्नेसम्मका विभिन्न निर्णय गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता संचार मन्त्री जगदिश खरेलले ६ वटा निर्णय सार्वजनिक गर्दै बाँकी नियमित प्रेस ब्रिफिङमा सार्वजनिक गरिने बताए ।
निर्णयहरु :
१. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५ सय ३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ ।
२. वित्तीय क्षेत्र विकास रणनीति २०८२/०८३ देखि २०८६/०८७ स्वीकृत गर्ने निर्णय भएको छ ।
३. २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभि- अभिलेखालय पुनर्निर्माण र गङ्गाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
४. मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।
५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ ।
६. आगामी माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने गरि संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।