विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
इबोला भाइरसको संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन् । यो प्रकोपले महामारीस्तरको आपत्कालीन मापदण्ड भने पूरा नगरेको बीबीसीले उल्लेख गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले हाल संक्रमित व्यक्तिको वास्तविक संख्या र यो प्रकोपको भौगोलिक विस्तारबारे ठूलो अनिश्चितता रहेको चेतावनी दिएका छन् ।
यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ । कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औं प्रकोप हो ।
विशेषज्ञहरूका अनुसार, यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको छ, जबकि यसअघि कंगोमा धेरैजसो केसहरू ‘जायरे’ स्ट्रेनका हुन्थे । हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाइएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढाएको छ ।
इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाले त्यहाँ त्रासको माहोल रहेको बताएका छन् । स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको छ र कहिलेकाहीँ एकै दिन २-३ वा सोभन्दा बढी मानिसको अन्तिम संस्कार गर्नुपरेको छ । मानिसहरूले सुरुमा यो रोग के हो भनेर बुझ्न नै सकेका थिएनन् । यद्यपि, बुनियाका बजार र सार्वजनिक स्थलहरूमा भने सामान्य गतिविधि जारी नै छ ।
कंगोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको छ । सङ्क्रमित बिरामीको मे १४ मा कम्पालाको एक अस्पतालमा मृत्यु भएको थियो । पछि उनको शवलाई कंगो नै फिर्ता पठाइएको थियो । युगान्डाले हालसम्म कुनै स्थानीय सङ्क्रमण फैलिएको पुष्टि भने गरेको छैन । अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको जनाएको छ । उता, क्षेत्रीय आवतजावतलाई मध्यनजर गर्दै केन्याले सतर्कता बढाएको छ । सरकारले इबोलाको पूर्वतयारीका लागि छुट्टै टोली बनाएर देशका सबै प्रवेश बिन्दुहरूमा निगरानी कडा पारेको छ ।
विश्वभर इबोला भाइरस डिजिजबाट सङ्क्रमित बिरामीहरूमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मृत्यु हुने गरेको छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । त्यस समय सुडान र तत्कालीन जायरे (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) मा यसका केसहरू देखिएका थिए । कंगोमा यो भाइरस फेला परेको क्षेत्र नजिकै बग्ने ‘इबोला नदी’ को नामबाट यसको नामकरण गरिएको हो । यो ज्यानमारा रोग सङ्क्रमित व्यक्तिको रगत, वान्ता र शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्छ ।
इबोलाबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये कंगो पर्छ । सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप थियो, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । पछिल्ला वर्षहरूमा खोप र उपचारको विकासले यसलाई नियन्त्रण गर्न मद्दत गरे पनि फरक-फरक प्रजाति देखा परिरहेको छ ।