चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह (रेमिट्यान्स) एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । उक्त वैशाख मसान्तसम्मको तुलनामा यो वर्षको १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
४ लाख ५ हजार ६१० ले लिए श्रम स्वीकृति
वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।
अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो ।
उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत
चालु आर्थिक वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) २.७७ प्रतिशत रहेको छ । गएको वर्षको वैशाखमा महँगी ४.४० प्रतिशत थियो ।
वैशाखमा घिउ तथा तेल र तरकारी उपसमूहमा पर्ने सामग्रीको मूल्य बढी देखिएको छ । घिउ तथा तेल उपसमूहको विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत र तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशतले बढेको छ ।
त्यसैगरी, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको मूल्य ०.४८ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेस्टुरेन्ट तथा आवास सेवाहरूको ३.१६ प्रतिशतले बढेको छ । वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
प्रदेशगत रूपमा कोसी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी सबैभन्दा धेरै ४.२९ प्रतिशत छ । यस्तै, मधेस प्रदेशको २.८१ प्रतिशत, वाग्मती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत छ । काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
एक खर्ब १२ अर्ब ४४ करोड बाहिरियो
पढ्न विदेश गएका नेपाली विद्यार्थीसँगै पछिल्लो १० महिनामा मुलुकबाट एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा उक्त रकम अध्ययन गर्न विदेश गएका विद्यार्थीसँगै बाहिरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा अध्ययन गर्न विदेश गएका नेपाली विद्यार्थीसँगै देशबाट एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ बाहिरिएको थियो । अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि विदेश गएका विद्यार्थीसँगै आठ अर्ब १० करोड रुपैयाँ बढी बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
चालु आर्थिक वर्षका १० महिना अर्थात् ०८१ साउन १ देखि ०८२ वैशाख मसान्तसम्मको अवधिमा विदेश गएका नेपालीसँगै एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बाहिरिएको छ । उक्त रकममध्ये एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षका १० महिनाको तुलनामा यसपालि भ्रमण व्यय १७.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षका १० महिनामा विदेश गएका नेपालीसँगै एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।
प्रत्यक्ष वैदेशिक लगानी वृद्धि
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको छ । समीक्षा अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब पाँच करोड मात्र भित्रिएको थियो ।